Tuesday, October 27, 2026

वीरगञ्ज सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीको अनुगमन, २४ घण्टा सञ्चालन गर्न निर्देशन

Advertisement
Advertisement

बारा,१० कात्तिक । प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीको स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा बन्दरगाहको भौतिक पूर्वाधार, व्यवस्थापकीय अवस्था तथा सञ्चालन प्रक्रियाबारे जानकारी लिँदै सभापति गजुरेलले प्रवेशद्वार २४ घण्टा सञ्चालन हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका ती बन्दरगाहको सेवा प्रवाह, व्यवस्थापकीय प्रभावकारिता तथा सञ्चालनमा देखिएका समस्या र सुधारका सम्भावनाबारे जानकारी लिन अनुगमन गरिएको पूर्वाधार विकास समितिका सभापति गजुरेलको निजी सचिवालयले जनाएको छ।

इन्टरमोडल यातायात विकास समिति र पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीबीच एकीकरण भएपछि हाल ती बन्दरगाह पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीमार्फत सञ्चालन हुँदै आएका छन्।

अनुगमनका क्रममा सभापति गजुरेल र सांसद साहले एकीकरणपछिको सञ्चालन अवस्था, व्यवस्थापकीय प्रभावकारिता तथा सेवा प्रवाहमा देखिएका समस्या र सुधारका सम्भावनाबारे जानकारी लिएका थिए।

उनीहरूले पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका सहायक प्रबन्धक कमल ज्ञवाली, सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीका प्रमुख कार्यकारी अधिकृत राजीव मोहन झा तथा एकीकृत जाँचचौकी सञ्चालक कम्पनी टीआरएस लजिपार्कका व्यवस्थापक गणेशप्रसाद घिमिरेलगायतसँग छलफल गरेका थिए।

वीरगञ्ज सुक्खा बन्दरगाहमा औसतमा मासिक ११० वटा मालवाहक रेल आउने गरेका छन् भने वीरगञ्ज एकीकृत जाँचचौकीमा दैनिक औसत ८०० वटा मालवाहक सवारीसाधन आवतजावत गर्दै आएका छन्।

सभापति गजुरेलले रेलसम्बन्धी पूर्वाधारको प्रभावकारी उपयोग, रेल सञ्चालनलाई थप व्यवस्थित बनाउने तथा मालसामानको ढुवानी प्रक्रियालाई सहज र प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन दिएका छन्।

नेपालमा रासायनिक मलको आपूर्तिमा रेलमार्गको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले मल आयातसँग सम्बन्धित भन्सार प्रक्रिया सहज, छरितो र व्यवस्थित बनाउन सुझाव दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर