Tuesday, October 27, 2026

पर्सामा चक्रवातको जोखिम: २४ घण्टा उच्च सतर्कतामा रहन निर्देशन, उद्धार सामग्री तयारी अवस्थामा राख्न आग्रह

Advertisement
Advertisement

वीरगञ्ज, १० कात्तिक। सम्भावित चक्रवातको प्रभावबाट हुन सक्ने प्राकृतिक विपद् तथा जनधनको क्षति न्यूनीकरण गर्न पर्सा जिल्लामा विपद् पूर्वतयारीलाई तीव्र पारिएको छ। जिल्ला विपद् पूर्वतयारी कमाण्ड पोस्टको बैठकले सुरक्षा निकाय, स्थानीय तह, सरकारी कार्यालय तथा सरोकारवाला निकायलाई आगामी २४ घण्टा उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।

२०८३ साल कात्तिक १० गते बसेको बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनलाई आधार मान्दै मधेश प्रदेशलगायतका क्षेत्रमा भारी वर्षा, चट्याङ तथा हावाहुरीको जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गरी विभिन्न निर्णय गरेको हो।

बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सरकारी कार्यालय, स्थानीय तह तथा गैरसरकारी संस्थालाई सम्भावित विपद्को प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। उद्धार कार्यमा तत्काल परिचालन हुन सक्ने गरी आवश्यक जनशक्ति, उद्धार सामग्री तथा स्रोतसाधन तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ।

स्थानीय तहलाई उद्धार तथा राहतको तयारी गर्न निर्देशन

बैठकले जिल्लाका सबै स्थानीय तहअन्तर्गतका स्थानीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउँदै आ–आफ्नो क्षेत्रमा जोखिमयुक्त स्थानको पहिचान गर्न आग्रह गरेको छ। सम्भावित बाढी, डुबान तथा हावाहुरीबाट प्रभावित हुन सक्ने क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा राख्न आवश्यक पर्ने आपत्कालीन आश्रयस्थलको पहिचान र व्यवस्थापन गर्नसमेत निर्देशन दिइएको छ।

त्यसैगरी उद्धार कार्यमा प्रयोग हुने एक्स्काभेटर, डम्पर र जेसीबीजस्ता साधनलाई इन्धनसहित तयारी अवस्थामा राख्न स्थानीय तहलाई आग्रह गरिएको छ।

किसानलाई धानबाली सुरक्षित राख्न आग्रह

सम्भावित प्रतिकूल मौसमबाट कृषि क्षेत्रमा हुन सक्ने क्षति न्यूनीकरण गर्न बैठकले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। कात्तिक १२ गतेअघि पाकेको धान काट्ने, भित्र्याउने तथा मियाँउ लगाउनेलगायतका कृषि कार्यबारे स्थानीय विपद् व्यवस्थापन समितिमार्फत किसानलाई तत्काल जानकारी गराउने निर्णय गरिएको छ।

काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न तथा मौसमको अवस्था प्रतिकूल भएमा धान काट्ने र अन्य कृषि कार्य गर्दा सावधानी अपनाउन किसानलाई सूचित गरिने बैठकले जनाएको छ।

कात्तिक १२ देखि १४ गतेसम्म अनावश्यक यात्रा नगर्न आग्रह

सम्भावित चक्रवातको प्रभावलाई ध्यानमा राख्दै बैठकले कात्तिक १२, १३ र १४ गते अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरेको छ। हावाहुरी तथा चट्याङका बेला सुरक्षित स्थानमा आश्रय लिन र अनावश्यक यात्रा नगर्न सार्वजनिक सूचना जारी गरिनेछ।

उक्त सूचना स्थानीय सञ्चारमाध्यम, एफएम रेडियो तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिनेछ। यसका लागि नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, रेडक्रस, गैरसरकारी संस्था, प्याब्सन, एनप्याब्सन, शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई सहयोग गर्न आग्रह गरिएको छ।

बैठकले सम्भावित विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकाल्दै पूर्वतयारी, उद्धार तथा राहतका कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सक्रिय रहन आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर