Tuesday, October 27, 2026

एनपिएलमा जनकपुर र कर्णालीको भिडन्त: हेड टु हेडमा जनकपुर अघि, मिलर र मोइन अलीमा नजर

Advertisement
Advertisement

बारा, १० कात्तिक। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको तेस्रो खेलमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दुवै टोलीका लागि यस सिजनको पहिलो प्रतिस्पर्धा हो। दुवै टोली जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छन्।

एनपिएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर यसपटक पुनः बलियो पुनरागमनको लक्ष्यमा छ। पहिलो संस्करणमा जनकपुरसँग दुई पटक पराजित भएको कर्णालीले दोस्रो संस्करणमा भने बदला लिँदै तीन रनको रोमाञ्चक जित निकालेको थियो।

त्यसैले यसपटकको भिडन्त दुवै टोलीका लागि अंकतालिकामा खाता खोल्ने अवसरसँगै पुरानो प्रतिस्पर्धालाई निरन्तरता दिने खेलसमेत हुनेछ।

हेड टु हेडमा जनकपुर अघि

एनपिएलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हालसम्म तीन खेल भएका छन्। तीमध्ये जनकपुरले दुई खेल जितेको छ भने कर्णालीले एक खेल आफ्नो पक्षमा पारेको छ।

पहिलो संस्करणको लिग चरणमा जनकपुरले कर्णालीले दिएको १४२ रनको लक्ष्य दुई विकेट गुमाएर १५.१ ओभरमै पूरा गरेको थियो। त्यसपछि पहिलो संस्करणकै क्वालिफायरमा पनि जनकपुरले कर्णालीलाई दुई विकेटले हराएको थियो।

दोस्रो संस्करणमा भने कर्णालीले आफ्नो पहिलो जित दर्ता गर्ने क्रममा जनकपुरलाई तीन रनले पराजित गरेको थियो। यससँगै कर्णालीले जनकपुरविरुद्धको हारको शृंखला तोडेको थियो।

पहिलो संस्करणको च्याम्पियन जनकपुरले दोस्रो संस्करणमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। अर्कोतर्फ कर्णालीले पनि अघिल्लो संस्करणमा अपेक्षित नतिजा निकाल्न नसकेकाले यसपटक दुवै टोली नयाँ सुरुवातको खोजीमा हुनेछन्।

 

मोइन अली र निसम जनकपुरका मुख्य आकर्षण

जनकपुरले यस संस्करणमा विदेशी खेलाडीको अनुभवलाई उपयोग गर्ने लक्ष्य राखेको छ। इंग्ल्यान्डका अलराउन्डर मोइन अली, न्युजिल्यान्डका जिमी निसम र पाकिस्तानका इफ्तिखार अहमद टोलीका प्रमुख आकर्षण हुन्। अमेरिकी राष्ट्रिय टोलीका खेलाडी हरमित सिंहले जनकपुरको कप्तानी गर्नेछन् भने वेस्ट इन्डिजका पूर्वकप्तान शिवनारायण चन्द्रपल प्रशिक्षकको भूमिकामा छन्।

मोइन र निसमको ब्याटिङसँगै बलिङ योगदान जनकपुरका लागि महत्त्वपूर्ण हुन सक्छ। इफ्तिखारको अनुभवले मध्यक्रमलाई बलियो बनाउने अपेक्षा गरिएको छ। नेपाली खेलाडीले पनि विदेशी खेलाडीसँग मिलेर प्रदर्शन गर्न सके जनकपुरले प्रतिस्पर्धात्मक सुरुवात गर्न सक्छ।

कर्णालीको भरोसा मिलर र वाट

कर्णाली याक्सको ब्याटिङमा दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर प्रमुख आकर्षण हुनेछन्। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामीले कर्णालीको कप्तानी गर्नेछन्। स्कटल्यान्डका मार्क वाट र पाकिस्तानका हुसैन तलत पनि टोलीका महत्त्वपूर्ण खेलाडी हुन्।

मिलरको आक्रामक ब्याटिङले खेलको दिशा बदल्न सक्छ भने वाटबाट टोलीले राम्रो सुरुवातको अपेक्षा गर्नेछ। सोमपालको नेतृत्व र नेपाली बलरको प्रदर्शन पनि कर्णालीका लागि निर्णायक बन्न सक्छ।

सम्भावित प्लेइङ–११

जनकपुर बोल्ट्स: हरमित सिंह (कप्तान), अनिल साह, आशुतोष पाण्डे, मोइन अली, इफ्तिखार अहमद, जिमी निसम, तृथराज दास, आदित्य महता, ललित राजवंशी, सन्तोष कार्की र मयन यादव

कर्णाली याक्स: सोमपाल कामी (कप्तान), दीपक डुम्रे (विकेटकिपर), अकबर अली, डेभिड मिलर, हुसैन तलत, गुलशन झा, सोमपाल कामी, पवन सर्राफ, मार्क वाट, बिपिन प्रसाद शर्मा, दीपेन्द्र रावत र नन्दन यादव ।

कसको पक्षमा जाला खेल?

इतिहास जनकपुरको पक्षमा देखिए पनि कर्णालीले अघिल्लो संस्करणमा तीन रनको जित निकालिसकेकाले यस खेललाई एकपक्षीय मान्न सकिँदैन। जनकपुरका लागि मोइन अली र जिमी निसमको अलराउन्ड प्रदर्शन महत्त्वपूर्ण हुनेछ भने कर्णालीको नजर मिलर र तलातको ब्याटिङमा रहनेछ।

कीर्तिपुरको मैदानमा टस, सुरुवाती ओभरको प्रदर्शन र मध्यक्रमको साझेदारीले खेलको नतिजामा प्रभाव पार्न सक्छ। जनकपुर आफ्नो पुरानो दबदबा कायम राख्न चाहन्छ भने कर्णाली हेड टु हेडको अन्तर घटाउँदै विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर