Tuesday, October 27, 2026

एनपीएल खेल्ने उत्साहमा नेपाल आएका फरहान निराश हुँदै फर्किए पाकिस्तान

Advertisement
Advertisement

काठमाडौं, १० कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका पाकिस्तानका टी–२० टोलीका कप्तान साहिब्जादा फरहान प्रतियोगिता सुरु हुनुअघि नै स्वदेश फर्किएका छन्। कर्णाली याक्समा आबद्ध फरहान पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को निर्देशनपछि नेपाल छाड्न बाध्य भएका हुन्। उनको अप्रत्याशित फिर्तीले एनपीएल खेल्ने उनको सपना र कर्णाली याक्सको योजनामा अन्योल थपिएको छ।

फरहानले एनपीएल खेल्नका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) समेत प्राप्त गरेर नेपाल आएका थिए। तर प्रतियोगिता सुरु हुनै लाग्दा पीसीबीले नयाँ सर्त अघि सार्दै पाकिस्तानी खेलाडीहरूको एनओसी रोक्ने तथा यसअघि जारी गरिएका एनओसीसमेत रद्द गर्न सक्ने चेतावनी दिएको बताइएको छ। पीसीबीले प्रत्येक खेलाडीका लागि थप २५ हजार अमेरिकी डलर माग गरेको स्रोतको भनाइ छ।

पीसीबीले राष्ट्रिय जिम्मेवारी भन्दै इमेलमार्फत तत्काल स्वदेश फर्किन निर्देशन दिएपछि फरहान पाकिस्तान फर्किएका हुन्। पाकिस्तानमा जारी श्रीलंका र इंग्ल्याण्ड सम्मिलित त्रिकोणात्मक शृङ्खलाका लागि ओपनर साइम अयूबको स्थानमा फरहानलाई टोलीमा समावेश गरिएको थियो। पाकिस्तान फाइनलमा प्रवेश गरिसकेको अवस्थामा फरहानले ३१ तारिखमा हुने फाइनल खेलेपछि नेपाल फर्किने योजना बनाएको स्रोतले जनाएको छ।

नेपालमा दुई रात बिताएका फरहान एक दिन कर्णाली याक्सको प्रशिक्षणमा समेत सहभागी भएका थिए। पहिलोपटक नेपाल आएका उनी एनपीएल खेल्न निकै उत्साहित रहेको बताइएको छ। तर प्रतियोगिता सुरु हुनुअघि नै फर्किनुपर्दा उनी निराश बनेको कर्णाली याक्स स्रोतले जनाएको छ। एयरपोर्टमा समेत उनले आफ्नो फोटो तथा भिडियो नखिच्न आग्रह गरेका थिए।

फरहानले ३१ तारिखपछि नेपाल फर्किएर एनपीएल खेल्ने आश्वासन दिएको स्रोतको दाबी छ। पीसीबीले मागेको अतिरिक्त रकम आफ्नै पारिश्रमिकबाट कटाएर भए पनि प्रतियोगिता खेल्न उनी इच्छुक रहेको बताइएको छ। यद्यपि यस विषयमा नेपाल क्रिकेट संघ (क्यान) र पीसीबीबीच संवाद जारी रहे पनि सहमति भइसकेको छैन। पाकिस्तानी खेलाडीहरूले एनपीएल खेल्न पाउने वा नपाउने विषय अझै अनिश्चित छ। नेपाल आएर मैदानमा उत्रिने प्रतीक्षामा रहेका फरहानको यात्रा अहिले राष्ट्रिय दायित्व र क्रिकेट बोर्डको सर्तबीच अड्किएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर