बारा, ११ कात्तिक। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ मा सहभागी हुने विद्यार्थीका लागि परीक्षा आवेदन फाराम खुला गरेको छ। बोर्डका अनुसार कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थीले आगामी कात्तिक ९ गतेदेखि मंसिर ८ गतेभित्र प्रतिविद्यार्थी ५०० रुपैयाँ परीक्षा शुल्कसहित आवेदन फाराम भर्नुपर्नेछ।
साधारण, प्राविधिक, खुला, वैकल्पिक तथा अनौपचारिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित विद्यालयमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि रजिस्ट्रेसन स्लिपको प्रतिलिपि, कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्र र जन्मदर्ताको प्रतिलिपिलगायत आवश्यक कागजात पेस गर्नुपर्नेछ।
विद्यालयहरूले विद्यार्थीको विवरण रुजु गरी आवेदन फाराम मंसिर १४ गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ। परीक्षा शुल्कबापतको राजस्व बैंकमा जम्मा गर्ने अन्तिम मिति मंसिर १५ गते तोकिएको छ।
तोकिएको समयभित्र आवेदन फाराम नभर्ने विद्यार्थीले एसईई २०८३ मा सहभागी हुन नपाउने भएकाले समयमै फाराम भर्न बोर्डले सम्बन्धित विद्यार्थी तथा विद्यालयलाई आग्रह गरेको छ।
यससम्बन्धी थप जानकारी राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट neb.gov.np तथा एसईई परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट see.gov.np बाट प्राप्त गर्न सकिनेछ।
विस्तृत विवरण 





