कलैया, १२ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको छ । घुँडाको चोटका कारण मैदान बाहिर रहेकी साम्बाले उपचार खर्च जुटाउन सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गरेपछि कांग्रेसले ५ लाख रुपैयाँ सहयोग गरेको हो ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङसँग टेलिफोन संवाद गरी पार्टीको तर्फबाट उक्त सहयोगको प्रतिबद्धता जनाएका थिए । शर्माको प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आइएमई बैंक लिमिटेडमा रहेको खातामा ५ लाख रुपैयाँ जम्मा गरिएको पार्टीले जनाएको छ ।
पार्टी सभापति गगनकुमार थापाले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएकी खेलाडी साम्बाप्रति उच्च सम्मान व्यक्त गरेका छन् । साम्बा हाल न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्सबाट व्यावसायिक फुटबल खेल्ने क्रममा घाइते भएका थिइन् ।
उनको घुँडाको पहिले गरिएको शल्यक्रियाको ग्राफ्ट र एमसिएल मा गम्भीर चोट लागेका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने देखिएको छ। कतारको अस्पेटार अस्पतालमा गरिने यस उपचारका लागि करिब ८० हजार अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ।
एन्फा र सरकारबाट पर्याप्त सहयोग नपाएपछि साम्बाले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेकी थिइन । ।हाल देश विदेशबाट खेलप्रेमी र विभिन्न संघसंस्थाहरूले सहयोग गर्न थालेका छन्।



