बारा, ०४ वैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध हुने टी-२०आई शृंखलाका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।
यस पटक टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीलाई सुम्पिएको छ भने नियमित कप्तान रोहित पौडेल टोलीमा परेका छैनन्। क्यानका अनुसार टी-२०आई टोलीको कप्तानी दीपेन्द्रले र ओडिआई टोलीको कप्तानी रोहितले सम्हाल्ने निर्णय भएको छ।
घोषित टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन्। मल्लले पछिल्लो पटक टी-२० विश्वकप एसिया छनोटमा खेलेका थिए भने साउदले सन् २०२२ मा केन्याविरुद्धको खेलपछि टोलीमा स्थान बनाएका हुन्।
यसैगरी, युवा खेलाडीहरू सन्तोष यादव र हेमन्त धामीले पनि पहिलोपटक टी-२०आई टोलीमा स्थान सुरक्षित गरेका छन्।




