बारा, ०८ वैशाख । नेपाल र यूएईबीच जारी ऐतिहासिक ‘अन्डर लाइट्स’ टी-२०आई सिरिजको दोस्रो खेल आज साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ।
नेपालमा पहिलोपटक रात्रिकालीन समयमा आयोजना भइरहेको यस अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल वर्षाका कारण डीएल पद्धतिमा ६ विकेटले पराजित भएको थियो।
हिजोको खेलमा पेस बलर हेमन्त धामीले डेब्यू गरेका थिए भने आजको खेलमा युवा खेलाडी सन्तोष यादवले पनि टोलीमा मौका पाउने सम्भावना रहेको छ।
नियमित कप्तानसहित केही अनुभवी खेलाडीको अनुपस्थितिमा दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा उत्रिएको नेपाली युवा टोली आजको खेल जित्दै सिरिजमा पुनरागमन गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।



