बारा, २१ जेठ। नेपाल क्रिकेट संघ (क्यान) ले भुटानविरुद्धको खेलमा नेपाली महिला टोलीबाट भएको ‘टाइम आउट’ घटनाप्रति औपचारिक रूपमा माफी मागेको छ।
क्यानले आज बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटना क्रिकेटको मूल्य र खेलभावनासँग मेल नखाने जनाएको हो। विज्ञप्तिमा खेल नियमअनुसार आउट गरिए पनि क्रिकेट केवल लिखित नियममा सीमित नभई खेलभावना, पारस्परिक सम्मान र निष्पक्षतामा आधारित हुनुपर्ने उल्लेख गरिएको छ।
क्यानले नेपाली महिला राष्ट्रिय टोलीको कदमप्रति दुःख व्यक्त गर्दै यस घटनाले खेलप्रेमी तथा सम्बन्धित पक्षमा निराशा उत्पन्न गरेको स्वीकार गरेको छ। साथै, भुटान क्रिकेट, सम्बन्धित खेलाडी तथा सबै सरोकारवालाप्रति हार्दिक क्षमायाचना व्यक्त गरिएको छ।
क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा क्यानले भविष्यमा पनि क्रिकेटको उच्च नैतिकता, इमान्दारिता र खेलभावनालाई कायम राख्ने प्रतिबद्धता जनाएको छ।
के छ आईसीसीको नियममा ?
आईसीसी (ICC) को नियम अनुसार, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा विकेट गुमेको ९० सेकेन्डभित्र नयाँ ब्याटर बल सामना गर्न क्रिजमा तयार भइसक्नुपर्छ। कुनै विशेष वा प्राविधिक कारण बिना तोकिएको समयमा ब्याटर तयार नभए र विपक्षी टोलीले अपील गरेमा अम्पायरले आउट दिने नियम छ। सोही नियमका आधारमा रिट्सी छोडेन आउट भइन् र नेपाली टोलीले यो ऐतिहासिक विकेटको खुसीयाली मनायो।
इतिहासमै तेस्रो र नेपालका लागि पहिलो पटक: अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक विपक्षी खेलाडीलाई ‘टाइम आउट’ गराएर विकेट लिएको हो। समग्र पुरुष र महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा यसरी ‘टाइम आउट’ हुने रिट्सी छोडेन मात्र तेस्रो ब्याटर हुन्।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक मात्र यो घटना भएको छ:१. श्रीलंकाका एन्जेलो म्याथ्युज (२०२३ को एकदिवसीय विश्वकपमा बंगलादेशविरुद्ध)
२. घानाका ब्याटर गडफ्रेड एनीफि (सन् २०२३ मै सिएरा लियोनविरुद्धको खेलमा)
विज्ञप्ति





