बारा, १२ साउन । नेदरल्यान्ड्समा जारी आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपाल नामिबियासँग ३ रनको अन्तरले पराजित भएको छ।
नामिबियाले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २०८ रन मात्र बनाउन सक्यो।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रनको योगफल खडा गरेको थियो।
यो पराजयसँगै जारी सिरिजमा नेपालले लगातार तेस्रो खेलमा हार व्यहोर्नु परेको छ। नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा आयोजक नेदरल्यान्ड्ससँग पराजित भएको थियो।



