बारा, ०६ भदौ । बाराको सिम्रौनगढ निवासी दुई जनालाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भारतबाट नेपालतर्फ अवैध रूपमा युरिया मल र खैनी ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ।
भारतको ७१औँ वाहिनी एसएसबीको टोलीले सीमा पार गराउन लागिएको १९ बोरा (८५५ किलो) युरिया मल, ५० किलो खैनी र तस्करीमा प्रयोग गरिएका ४ वटा साइकल जफत गरेको हो।
बाह्य सीमा चौकी (बीओपी) रेगानियाबाट सहायक उपनिरीक्षक दिलीप रबि दासको नेतृत्वमा खटिएको विशेष गस्ती टोलीले अगरवा सीमा क्षेत्रबाट उनीहरूलाई रंगेहात पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका अन्तर्गत ननसागरा घाटका १८ वर्षीय प्रभु मुखिया र १९ वर्षीय अमिरखा मुखिया रहेका छन्।
एसएसबी टोलीलाई देख्नासाथ अन्य केही तस्करहरू सामान र साइकल छाडेर नेपालतर्फ भाग्न सफल भएका थिए। पक्राउ परेका दुवै जनाले बरामद सामानको कुनै पनि वैधानिक कागजात वा बिल पेस गर्न नसकेपछि एसएसबीले आवश्यक कानुनी कारबाहीका लागि उनीहरूलाई जफत गरिएका सामानसहित सीमा शुल्क कार्यालय (कस्टम अफिस) मोतिहारी, भारतमा बुझाएको छ।






