बारा, ०६ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले शनिबार साँझ प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन तथा पुजाअर्चना गरेका छन्।
काठमाडौँबाट शुक्रबार भ्रमणमा निस्किएका प्रधानमन्त्री शाह बेनी–जोमसोम सडकमार्ग हुँदै दिउँसो ३ बजे मुस्ताङ पुगेका थिए । मुस्ताङको घरपझोङ–३ स्थित पुथाङ एयरपोर्ट नजिकै रहेको होटल ओम्स होममा बास बसेका प्रधानमन्त्री शाह त्यहाँ केही समयको आरामपछि साँझ मुक्तिनाथतर्फ प्रस्थान गरेका थिए।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार प्रधानमन्त्री शाह साँझ ७:३० बजे मुक्तिनाथ मन्दिर प्राङ्गण प्रवेश गरेका थिए । मन्दिरमा करिब आधा घण्टा बिताएका उनी मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह साँझ ८ बजे पुजाअर्चना सम्पन्न गरी पुनः जोमसोमस्थित होटलमा फर्किएका छन्।






