बारा, ०७ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ कि तीन वर्षीया अबोध बालिका गरिमा चौधरीको हत्या प्रकरणलाई लिएर सरकार र पीडित परिवारबीच शनिबार राति ३ बुँदे लिखित प्रतिबद्धता-पत्रमा हस्ताक्षर भएको छ।
गृह मन्त्रालयमा साँझ देखि गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, महिला तथा बालबालिका मन्त्री सिता बादी र कृषिमन्त्री गीता चौधरीसहितका मन्त्रीहरूको उपस्थितिमा मृतक बालिकाका बुवा मनोज कुमार चौधरी र आमा मनमती चौधरीसँग छलफल भई ३ बुँदे सहमति जुटेको हो।
सहमति अनुसार जघन्य आपराधिक घटनाका सम्बन्धमा नागरिक अपेक्षा बमोजिम विद्यमान कानुनमा भएको कसूर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति‘ गठन गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, पीडित अभिभावकको अपेक्षा बमोजिम पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी शालिक निर्माणको पहल गर्ने र अभिभावकले आफ्नो रीति तथा संस्कार बमोजिम बालिकाको अन्त्येष्टि कार्य गर्ने सहमति भएको छ।
शनिवार राति ११:५० बजे दुवै पक्षबाट सहमति-पत्रमा हस्ताक्षर भएसँगै चरणबद्ध रूपमा अघि बढेको वार्ता निष्कर्षमा पुगेको छ।






