बारा, ०७ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ कि तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणमा गृह मन्त्रालयमा सरकार र पीडित पक्षबीच ३ बुँदे सहमति भएपछि परिवारजनले आज प्रादेशिक अस्पताल कलैयाबाट शव बुझेका छन्।
विगत केही दिनदेखि निष्पक्ष अनुसन्धान, दोषीलाई कडा कारबाही र कानुनी सुधारको माग राख्दै परिवारले शव बुझ्न अस्वीकार गर्दै आएका थिए। शनिवार राति गृह मन्त्रालयमा गृहमन्त्रीसहित ५ मन्त्री र सांसदहरूको उपस्थितिमा कानुन पुनरावलोकनका लागि ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्ने लगायतका विषयमा लिखित प्रतिबद्धता भएपछि परिवार शव बुझ्न तयार भएको हो।
सरकारसँग भएको सहमति अनुसार पीडित परिवारले आफ्नै धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार बालिकाको अन्त्येष्टि कार्य अघि बढाउने भएका छन्। प्रादेशिक अस्पताल कलैयाबाट शव बुझेर अन्तिम संस्कारका लागि कलैया उपमहानगरपालिका-१४ वघवन स्थित पसाहा खोलामा लैजाने क्रममा पीडितका आफन्त , प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, विभिन्न सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो।
सरकारले कानुनी जटिलता फुकाउन र दोषीलाई हदैसम्मको कानुनी सजाय दिलाउन प्रतिबद्धता जनाएसँगै परिवारजनले दुःखद घडीमा बालिकाको सदगत गर्ने निर्णय लिएका हुन्।






