बारा, ०८ भदौ । भारतको अरेराजमा बोलबम यात्राका क्रममा बसबाट खसेर बसकै पछाडिको चक्काले किच्दा बाराका एक श्रद्धालुको मृत्यु भएको छ।
मृत्यु हुनेमा बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–३, भटिनिया निवासी वनारसी राय यादव रहेका छन्।
प्रहरीका अनुसार यादव गाउँलेहरूसँग मिलेर बोलबम यात्राका लागि मे १ ख २४२९ नम्बरको बस रिजर्भ गरी भारतको अरेराज गएका थिए। भदौ ६ गते दिउँसो करिब ३ बजे यात्रा गरिरहेका क्रममा उनी अचानक बसबाट खसेका थिए। बसबाट खसेलगत्तै सोही बसको पछाडिको चक्काले किच्दा उनी गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते यादवलाई तत्काल उपचारका लागि नेपाल ल्याइएको थियो। भदौ ७ गते बिहान करिब ८ः१५ बजे उनलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) पुर्याइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।






