बारा, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएका नागरिकको सहायताका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको छलफलपछि डब्ल्युएचओले करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि, स्वास्थ्य उपकरणका साथै प्रभावित क्षेत्रमा प्रयोगका लागि २४ स्क्वायर मिटरका १५ वटा आपतकालीन टेन्ट उपलब्ध गराउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच, मन्त्रालयले बाढीबाट घाइते भएकाहरूको द्रुत उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या सुरक्षित राखेको छ । हालसम्म उद्धार गरिएका तीन जना घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइसकिएको छ ।
विपद्को घडीमा आपतकालीन स्वास्थ्य सेवा चुस्त बनाउन मन्त्रालयले काठमाडौँका संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयका साथै नेपाल रेडक्रस, लायन्स क्लब र नेपाल स्काउट जस्ता निकायहरूसँग समन्वय गरिरहेको छ ।



