बारा, १० भदौ । हालको विषम परिस्थितिमा विपद्बाट भएको क्षतिका सम्बन्धमा विभिन्न सामाजिक सञ्जालहरूमा गलत, भ्रामक तथा तथ्यहीन सामग्रीहरू सम्प्रेषण नगर्न नेपाल प्रहरीले आम सर्वसाधारण नागरिकमा आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालय, नक्सालले एक विशेष सूचना जारी गर्दै संकटको समयमा कृत्रिम बुद्धिमत्ता (एआई) बाट निर्मित भ्रामक सामग्रीलाई वास्तविक घटनाको भन्दै शेयर नगर्न र कुनै पनि सूचना सम्प्रेषण गर्नुअघि त्यसको आधिकारिक स्रोत तथा सत्यता अनिवार्य रूपमा जाँच्न अनुरोध गरेको छ।
विपद्को यस्तो संवेदनशील घडीमा फैलाइने अफवाह वा अनर्गल प्रचारले सर्वसाधारणमा अनावश्यक भय र भ्रम सिर्जना गर्नुका साथै प्रत्यक्ष रूपमा भइरहेको वास्तविक उद्धार तथा राहत कार्यमा समेत गम्भीर बाधा पुग्ने प्रहरीको ठहर छ। प्रहरीले केवल आधिकारिक र पुष्टि भएका सूचना मात्र शेयर गरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सबैलाई अपिल गरेको छ।
साथै, कतै बाढी, पहिरो वा विपद्का कारण उद्धारको तत्काल आवश्यकता परेमा सामाजिक सञ्जालमा असत्यापित हल्ला फैलाउनुको सट्टा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल वा सम्बन्धित स्थानीय सरकारी निकायलाई सोझै जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।



