बारा,१५ भदौ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बाराको कलैया उपमहानगरपालिका–१ बजारस्थित जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ।
सहकारी संस्थाले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत जम्मा गरेको संस्थाका अध्यक्ष दिलिप कुमार चौधरीले जानकारी दिए।
अध्यक्ष चौधरीका अनुसार प्राकृतिक विपद्का कारण पीडित बनेका नागरिकलाई राहत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो।
भोटेकोसी नदीमा आएको बाढीबाट रसुवामा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूले सहयोग गर्दै आएका छन्। जीवन ज्योति सहकारीले गरेको सहयोगले बाढीपीडितको राहत तथा पुनःस्थापनामा केही हदसम्म योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, संस्थाले स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहयोग गर्दै आएको अध्यक्ष चौधरीले जानकारी दिए।



