बारा,१७ भदौ । बाराको कलैयामा जेनजी युथ अफ बाराले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि राहत संकलन अभियान मंगलबारदेखि सुरु गरेको छ। जेनजी युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा कलैयास्थित भरत चोकबाट उक्त अभियान सुरु गरिएको हो।
‘आउनुहोस्, पीडितहरूको हातमा हात मिलाऔँ, मानवसेवा नै हाम्रो धर्म हो’ भन्ने मूल नाराका साथ संकलन सुरु गरेको अभियानको पहिलो दिन १८ बोरा चामल, ७ प्याकेट बिस्कुट, २ बोरा भुजा, ४० कार्टुन चाउचाउ र २ बोरा कपडा संकलन गरिएको छ।
राहत संकलनमा कलैया उपमहानगरपालिका–४ का वडाध्यक्ष रामेश्वर प्रसाद यादव, वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुर, वडा नं. ८ का वडाध्यक्ष रञ्जित चौरसिया, वडा नं. ११ का वडाध्यक्ष अजय कुशवाहा, वडा नं. २६ का वडाध्यक्ष धर्मेन्द्र यादवले सहयोग गरेका हुन्। यस्तै फुलमती देवी, क्रसर उद्योग तथा राइस मिलका सञ्चालक, रेखा ट्रेड्स, सूर्य रेडिमेड हाउस लगायतका विभिन्न व्यवसायीहरुले सहयोग गरेका छन्।
जिल्लाबाट पनि विपद्मा परेका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त अभियान सुरु गरिएको अध्यक्ष पाण्डेयले बताए। राहत संकलन अभियान बुधबार पनि सञ्चालन हुने उनले जानकारी दिए। विभिन्न संघ–संस्था, व्यवसायी तथा सहयोगी मन भएका व्यक्तिहरूलाई अभियानमा जोडिन उनले आग्रह गरेका छन्।
अभियानमा जेनजी युथ अफ बाराका संजय चौधरी, आनन्द गुप्ता, संजय पटेल, अशोक पण्डित, रितिक साह, प्रशान्त यादव, नुर आलम लगायत पदाधिकारी तथा सदस्यहरूको सक्रियता रहेको थियो।




