बारा, १८ भदौ। “कानुनी ज्ञान, सचेत समाजको पहिचान” तथा “कानुन जानौँ, सचेत रहौँ” भन्ने नाराका साथ बाराको प्रसौनी गाउँपालिकाका विभिन्न वडा तथा विद्यालयमा कानुनी सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका बी.ए.एलएल.बी चौथो वर्षका विद्यार्थीहरू ममता यादव, एस.एम. कल्पना, चित्र छाया सहनी र जुली मण्डलले स्थानीय समुदाय तथा विद्यार्थीलाई कानुनी विषयमा जानकारी गराइरहेका छन्। कार्यक्रम सुरु गर्नुअघि उनीहरूले प्रसौनीका वडा नं. १ देखि ७ सम्म पुगेर स्थानीयका सामाजिक तथा कानुनी समस्याबारे जानकारी संकलन गरेका थिए।
संकलित तथ्यका आधारमा विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। यसैक्रममा बुधबार प्रसौनी–२ स्थित बेंगा साह माध्यमिक विद्यालयमा विद्यार्थीलाई मौलिक अधिकार तथा कर्तव्य, बाल अधिकार, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा, साइबर अपराध तथा लागूऔषधसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी दिइएको थियो।
कानुन अदालत वा विवादमा मात्र सीमित नभई नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सबैमा आधारभूत कानुनी ज्ञान आवश्यक रहेको विद्यार्थीहरूले बताएका छन्। अभियानले स्थानीय समुदाय तथा विद्यालय तहमा कानुनी ज्ञानको पहुँच विस्तार गर्दै नागरिकलाई आफ्ना अधिकार, कर्तव्य र कानुनी उपचारबारे सचेत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




