बारा, २१ भदौ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ।
साउदी अरेबियाले जितका लागि दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा गुल्शन झा र कप्तान रोहित पौडेलले उत्कृष्ट साझेदारी सम्हाल्दै टोलीलाई विजयी गराए, जसमा गुल्शनले अविजित ४४ रन र रोहितले अविजित २४ रनको योगदान दिए।
यसअघि इशान पान्डेले ४०, देव खनालले ३९, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन जोडेका थिए। साउदीका इस्तियाख अहमद र मुहम्मद आतिफले २-२ तथा मोहम्मद हिशमले १ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। साउदीका लागि अब्दुल वाहीदले ७७ रनको सर्वाधिक अर्धशतकीय पारी खेले भने मोहम्मद आतिफले ३० र मोहम्मद हिशम शेखले २८ रन बनाए। नेपालका तर्फबाट कसिलो बलिङ गर्दै सन्दीप लामिछानेले १० ओभरमा १९ रन दिएर ३ विकेट र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।
त्यस्तै ललित राजवंशीले २ तथा शेर मल्ल र गुल्शन झाले १-१ विकेट हात पारे। प्रतियोगितामा यसअघि बहराइन र मलेसियालाई हराइसकेको नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्नेछ । उक्त खेलले समूह विजेताको टुङ्गो लगाउनेछ।




