बारा,२५ भदौ । मलेसियाको क्वालालुम्पुरस्थित बायुमास ओभलमा बिहीबार भएको एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो। १४८ रनको विजयी लक्ष्य पछ्याएको ओमान नेपालको घातक बलिङसामु टिक्न नसकी २८.१ ओभरमा मात्र ६० रनमा अलआउट हुन पुग्यो।
अर्को सेमिफाइनल खेलमा हङकङलाई पराजित गर्दै यूएईले पनि फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। अब शनिबार हुने फाइनल भिडन्तमा नेपालले यूएईको सामना गर्नेछ।
उक्त फाइनल खेलमा यूएईलाई पराजित गर्न सके नेपालले आगामी एसिया कपमा आफ्नो स्थान पक्का गर्नेछ।





