बारा, २० असोज । दसैँ तथा तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै असोज २३ गतेदेखि लामो तथा मध्यम दुरीका सार्वजनिक सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार व्यवसायी तथा सरोकारवाला निकायबीच भएको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। बैठकले यात्रुको सहज आवतजावतका लागि फूलपातीदेखि पूर्णिमासम्म लामो/मध्यम दुरीका गाडी र रिजर्भ गाडीहरूलाई देशभरका लागि रुट-परमिट खुला गर्ने निर्णयसमेत गरेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए।
चाडपर्वका बेला सडकमा सवारीको चाप कम गर्न फलफूल, तरकारी, औषधि, खाद्यान्न र खसीबोकाजस्ता अत्यावश्यक सामग्री बोक्ने सवारीसाधनलाई मात्र प्राथमिकता दिइने भएको छ।
यात्रुहरूलाई ठगिन वा कालाबजारीको शिकार हुन नदिन तथा भाडादरमा पारदर्शिता कायम राख्न प्रमुख नाका र स्टेसनहरूमा सहायता कक्ष स्थापना गरिनेछ। यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले चाडपर्वका बेला भाडा नबढ्ने र पूर्वनिर्धारित दरमै सेवा दिने प्रतिबद्धता जनाएका छन्।
वर्षा र प्राकृतिक प्रकोपका कारण धेरै स्थानमा सडक बिग्रिएकाले चालकहरूलाई जोखिम मोलेर सवारी नचलाउन आग्रह गरिएको छ।






