बारा, ०४ कात्तिक । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर हर्षोल्लासका साथ मनाइँदै छ।
दशैं घर तथा पूजा कोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको देवीको प्रसाद आज मान्यजनबाट ग्रहण गर्ने गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ०८:४९ बजे देवी विसर्जनको साइत रहेको छ भने टीका प्रसाद ग्रहणका लागि बिहान १०:२६ बजेको साइत अति उत्तम मानिएको छ।
यद्यपि विजयादशमी आफैंमा शुभ दिन भएकाले सामान्य नागरिकले दिनभर जुनसुकै समयमा पनि टीका लगाउन सक्ने र आज नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका–जमरा थापेर आशीर्वाद लिन सक्ने समितिले जनाएको छ।





