बारा, ०४ कार्तिक। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरस्थित ब्रह्मबाबा चौर नजिकको नहरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृत फेला पर्नेमा सोही स्थानका करिब ५६ वर्षीय हरिनारायण सहनी रहेका छन्। प्रहरीका अनुसार सहनीका छोरा रामविनय सहनीले बुधबार बिहान करिब ६ बजे नहरमा बुबालाई मृत अवस्थामा देखेका थिए। त्यसपछि उनले शव नहरबाट निकालेर डिलमा राखी बिहान ६ः२० बजे इलाका प्रहरी कार्यालय जीतपुरमा जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा सोको सहित पाँच जनाको टोलीसमेत खटिएको थियो।
प्रहरीले बिहान करिब ८ः१५ बजे प्रारम्भिक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। पोस्टमार्टमपछि बिहान ११ः२५ बजे मृतकका छोरा विनय सहनीले शव बुझिलिएको प्रहरीले जनाएको छ।
सहनीको मृत्युको कारण भने पोस्टमार्टम तथा थप अनुसन्धानबाट खुल्नेछ।





