बारा १२ कात्तिक । बाराको जङ्गलभित्र प्रवेश गरी रातिको समयमा रुख काटेर गोलिया बनाई गाडीमा लोड गर्दै गरेको अवस्थामा वन गस्ती टोलीले काठसहितको भ्यान नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गाडीका चालकलाई पक्राउ गरेको छ भने मोटरसाइकलमा सवार अन्य दुई जना फरार भएका छन्।
मधुबन सबडिभिजन वन कार्यालयको गस्ती टोलीले नियमित गस्तीका क्रममा राति करिब १२ बजे काठ लोड गरिएको बा १ च ८९११ नम्बरको भ्यान नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत सुजित कुमार झाले जानकारी दिनुभयो ।
अनुसन्धानको जिम्मेवारी पाएका मधुबन सब डिभिजन बन कार्यालयका रेञ्जर उदय पुडासैनीका अनुसार बरामद काठ तीनवटा रुख काटेर बनाइएका आठवटा गोलिया हुन्। बरामद काठ सिसौँ जातको रहेको र त्यसको परिमाण ८६ दशमलव ७ क्युफिट रहेको उहाँले बताउँनुभयो ।
वन क्षेत्रमा अवैध रूपमा रुख कटान गरी काठ ओसारपसार गर्न खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।काठसहित नियन्त्रणमा लिइएको गाडीका चालक रौतहटको कटहरिया नगरपालिका वडा नं.१२ निवासी २९ वर्षीय जलन्धर महत्तो रहेका छन्।
उनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन डिभिजन वन कार्यालय बाराको नियन्त्रणमा राखिएको छ। घटनामा संलग्न रहेको आशङ्का गरिएका मोटरसाइकलमा सवार अन्य दुई जना भने फरार रहेको वन कार्यालयले जनाएको छ ।
अनुसन्धानका क्रममा काठ ओसारपसारमा प्रयोग गरिएको गाडीको नम्बर प्लेट नक्कली रहेकोसमेत फेला परेको छ। वास्तविक रूपमा ना १ च ८९११ नम्बर रहेको गाडीमा बा १ च ८९११ नम्बरको प्लेट राखेर प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। काठ चोरी तथा अवैध ओसारपसारमा पहिचान लुकाउन नक्कली नम्बर प्लेट प्रयोग गरिएको हुन सक्ने आशङ्का गरिएको छ।
नियन्त्रणमा लिइएको काठसहितको भ्यान डिभिजन वन कार्यालय बाराको प्राङ्गणमा राखिएको छ भने पक्राउ परेका महत्तोलाई कार्यालयको थुनुवा कक्षमा राखेर अनुसन्धान भइरहेको छ ।
डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत झाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। फरार व्यक्तिको खोजी, काठ कटान भएको वन क्षेत्रको पहिचान तथा घटनामा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
वन क्षेत्रमा अवैध रूपमा रुख कटान गरी काठ ओसारपसार गर्नु वन ऐनअनुसार दण्डनीय कार्य हो। घटनाको थप अनुसन्धानपछि काठको स्रोत, गाडीको वास्तविक प्रयोग तथा संलग्न व्यक्तिको भूमिकाबारे थप विवरण खुल्ने अपेक्षा गरिएको छ।





