बारा, १५ कात्तिक । बारा क्षेत्र नम्बर ३ का पूर्वसांसद तथा जनता समाजवादी पार्टी (जसपा) का नेता रामबाबु कुमार यादवले फेटा गाउँपालिकामा भएको घटनाप्रति कडा आपत्ति जनाउँदै वर्तमान सरकार र गृह प्रशासनले मधेश र मधेशी जनताप्रति दोहोरो तथा दमनकारी नीति लिँदै आएको आरोप लगाएका छन्।
फेटाको एक अस्पताल उद्घाटन कार्यक्रमलाई केन्द्रित गरेर उत्पन्न विवादपछि भएको प्रहरी गोली प्रहार, तोडफोड र आगजनीको घटनाप्रति इङ्गित गर्दै उनले सरकारसँग गाउँ घरका सामान्य विवादहरू समेत शान्तिपूर्ण रूपमा समाधान गर्ने क्षमता र परिपक्वता नरहेको बताएका छन्।
प्रहरीको गोलीबाट मधेशका जनता मारिनु र गम्भीर घाइते हुनुले सरकारको मधेशप्रतिको विभेदपूर्ण रवैया फेरि प्रस्ट पारेको र यस्तो सरकारबाट सुशासनको आशा गर्नु नै गलत हुने नेता यादवको निष्कर्ष छ।





