Friday, July 31, 2026

एनपिएल सिजन-२ खेल्न जिम्मी निशम किन आएनन् नेपाल?

कलैया, १७ कात्तिक। मंसिर १ गतेदेखि शुरु हुन लागेको एनपिएलको सिजन-२ का लागि सबै टिम तयारीमा जुटेका छन्। सबै टिमहरू बिदेशी खेलाडी र ट्यालेन्ट हन्टबाट स्वदेशी खेलाडी आफ्नो टिममा भित्र्याउन व्यस्त छन्।

यसै बिच नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको विजेता जनकपुर बोल्ट्सबाट खेलेका न्युजिल्यान्डका अलराउन्डर जिम्मी निशम नखेल्ने भएपछि समर्थकहरूमा निराशा छाएको छ।

गत वर्ष जनकपुरको उपाधि यात्रामा धेरै स्वदेशी र विदेशी खेलाडीहरुको महत्वपूर्ण योगदान रह्यो । त्यसमध्ये पनि अविस्मरणीय छाप छोड्न सफल भएका खेलाडी हुन् न्यूजिल्यान्डका अलराउन्डर जिम्मी निशम । खासगरि उनको ब्याटले एनपीएलमा राम्रै रौनक ल्याइदियो । एनपीएलकै कारण उनी नेपाली दर्शकमाझ निकै लोकप्रिय बनेका छन् ।

नेपाल आएका बखत जिम्मी निशम न्यूजिल्यान्डको राष्ट्रिय टीममा थिएनन् । तर, एनपीएलमा धमाल मच्चाएसँगै उनको राष्ट्रिय टीममा कमब्याकको ढोका खुल्यो । अहिले उनी न्यूजिल्यान्डको टि २० टोलीमा फर्केका छन् । तर, यो कमब्याकले जनकपुर बोल्ट्सलाई भने घाटा लागेको छ । यदि उनले राष्ट्रिय टीममा कमब्याक नगरेको भए सम्भवतः एनपीएल खेल्ने थिए ।

दोस्रो संस्करणमा जिम्मीलाई दोहोर्याउन आतुर थियो जनकपुर बोल्ट्स । जिम्मी स्वयम् पनि एनपीएलमा फर्किन व्यग्र थिए । तर, जुरेन । कारण आइसीसीले लगाएको नियम । आइसीसीले एसोसिएट्स राष्ट्रमा हुने लिगहरुका लागि के नियम लगाएको छ भने पहिलो र दोस्रो संस्करणमा टेस्ट राष्ट्रबाट ४ जना ‘सक्रिय खेलाडी’हरु मात्रै ल्याउन सकिन्छ । ‘सक्रिय खेलाडी’ को अर्थ हो, निजले २४ महिनायता कुनै पनि टेस्ट राष्ट्रबाट अन्तर्राष्ट्रिय म्याच खेलेको ।

एनपीएलमा जम्मा ८ वटा फ्रेन्चाइजी टीम छन् । जम्मा ४ जना टेस्ट राष्ट्रका सक्रिय खेलाडी ल्याउन पाइने भएपछि ४ फ्रेन्चाइजीले एक–एक जना ल्याउन पाउने भए । बाँकी ४ फ्रेन्चाएजीले पाएनन् । गोलाप्रथाबाट निर्णय हुँदा जनकपुर बोल्ट्सको भागमा परेन ।

जिम्मी निशम अहिले न्यूजिल्यान्डबाट टि २० खेलिरहेको हुँदा उनी सक्रिय खेलाडी हुन् । त्यसैले जनकपुर बोल्ट्सले उनलाई भित्र्याउन नपाउने भएको हो । गोलाप्रथाबाट निर्णय भएलगत्तै जनकपुर बोल्ट्सका तर्फबाट निशमलाई पत्राचार गरेर आइसीसीको नियमका कारण उनलाई यसपटक अनृुवन्ध गर्न नसकिने जानकारी गराइएको थियो।

निशमले हालै नेपाली फ्यानहरुका लागि एक भिडिओ सन्देश जारी गर्दै एनपीएलको दोस्रो संस्करण खेल्न नपाउने अवगत गराएका छन् ।

भिडिओमा उनले भनेका थिए, ‘मलाई नेपालबाट ठूलो संख्यामा फ्यानहरुको सन्देश आइरहेको छ । गत वर्ष एनपीएल अद्भुत भएको थियो र मैले निकै सुखद अनुभव हासिल गरेको थियो । नेपाल मलाई एकदमै राम्रो र सुन्दर लाग्यो । तर, दुर्भाग्यपूर्णरुपमा म दोस्रो संस्करणमा फर्किन नसक्ने भएँ । आइसीसीको नियमले गर्दा मैले यो पाली खेल्न नसक्ने भएको छु । आशा छ, भविष्यमा अन्य संस्करणहरु खेल्नेछु। तपाईंहरुको माया र स्नेहका लागि धेरै धेरै धन्यवाद ।’

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर