कलैया, ०९ चैत । वीरगञ्जमा जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । नारायणी क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको छ।
टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमका लागि हेमन्त धामीले घातक बलिङ गर्दै ७ ओभरमा मात्र १६ रन खर्चेर ६ विकेट लिएपछि कर्णाली प्रदेश ३२ ओभरमा ११९ रनमा समेटिएको थियो। कर्णालीका लागि विपिन रावलले सर्वाधिक ३३ र सुनील धमलाले २८ रन जोडे।
१२० रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाउँदै जित सुनिश्चित गर्यो। सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले २६, खडक बोहराले २३ र मिलन बोहराले अविजित १८ रनको योगदान दिए।



