बारा, १४ वैशाख । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदान भत्काउन लागिएको भन्ने हल्लाको खण्डन गर्दै कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले खेलमैदानका बारेमा सामाजिक सञ्जाल र जनमानसमा उब्जिएका जिज्ञासाको सम्बोधन गरेका हुन्।
उनले सोमबार बिहान मात्रै विश्वविद्यालयका पदाधिकारीहरूसँग यस विषयमा छलफल भएको जानकारी दिँदै राज्यको ठूलो लगानी रहेको यस्तो संरचना भत्काउने कुनै योजना नरहेको बताए।
मैदानको वर्तमान अवस्थाबारे जानकारी दिँदै मन्त्री पोखरेलले पुरानो लिज सम्झौताको अवधि समाप्त भएको र अब नयाँ ढाँचामा भाडा सम्झौता गरिने स्पष्ट पारे।



