Thursday, July 30, 2026

विश्वकप लिग-२: अमेरिकाविरुद्ध नेपालको शानदार जित

बारा, ०८ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको शानदार जित दर्ता गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको विशाल योगफल खडा गरेको थियो । नेपालका लागि इशान पाण्डेले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ खेले भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले पनि विष्फोटक अर्धशतक प्रहार गरे ।

नेपालले दिएको ३१८ रनको बलियो लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा मात्र १९५ रनमा समेटियो । अमेरिकाका लागि सन्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । अन्य ब्याटरहरूमा नेत्र केन्जिगेले २९, शयान जहांगिरले २७, शेहान जयसुरियाले २६ र कप्तान शैतेजा मुक्कामुल्लाले २२ रन जोडे भने मिलिन्द कुमारले १२ र शौरभ नेत्रभाल्करले १० रन बनाए । यस्तै, शुभम रन्जने २ रनमा आउट हुँदा हर्मित सिंह र स्मित पटेलले खाता समेत खोल्न सकेनन् ।

अमेरिकालाई कमै रनमा रोक्न नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । बलिङतर्फ स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले समान २-२ विकेट लिए ।

त्यस्तै, सोमपाल कामीको भागमा १ विकेट रह्यो । यस शानदार जितसँगै नेपालले घरेलु मैदानमा आयोजना भएको सिरिजको अन्तिम खेलमा सुखद अन्त्य गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर