बारा, १४ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण अकासिएको डिजेल, पेट्रोललगायतका पेट्रोलियम पदार्थको मूल्य अब चाँडै घट्ने दाबी गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेकाले नेपाली बजारमा पनि यसको प्रभाव छिट्टै देखिने स्पष्ट पारे।
मध्यपूर्वको तनाव बिस्तारै सामान्य बन्दै गएकाले उपभोक्ताले राहत पाउने उनको भनाइ थियो।
जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले मध्यपूर्वको समस्याका कारण इन्धनमा भएको मूल्यवृद्धिले आम उपभोक्तालाई पारेको आर्थिक भार कम गर्न सरकारले तदारुकता देखाएको उल्लेख गरे। उनले आफूले अर्थमन्त्रालय सम्हालेको दुई हप्ताभित्रै डिजेल, पेट्रोल र मट्टीतेल पैठारीमा लाग्ने भन्सार महसुल तथा डिजेल र पेट्रोलमा लाग्ने पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरिसकेको स्मरण गराए।
सरकारको यो कदमले अन्तर्राष्ट्रिय बजारको चर्को मूल्य वृद्धिको असर नेपाली उपभोक्तामा सिधै पर्न नदिएको उनले दाबी गरे।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य घटिसकेको भए तापनि नेपालमा त्यसको तल्कालै समायोजन हुन नसक्नुमा प्राविधिक कारण रहेको अर्थमन्त्रीले स्पष्ट पारे। नेपालले भारतीय आयल निगम मार्फत प्रशोधित इन्धन आयात गर्ने हुनाले मूल्य समायोजनमा केही टाइम ल्याग हुने उनले जिकिर गरे।
अन्तर्राष्ट्रिय बजारको घटेको मूल्य भारतीय आयल निगमको प्रणालीमा समायोजन भई नेपाल आइपुग्न केही समय लाग्ने हुनाले हालसम्म मूल्य घटाउन नसकिएको भन्दै उनले अबको केही समयभित्रै नेपाली बजारमा इन्धनको मूल्य घट्ने बताएका छन्।



