बारा, ३१ असार । नेपाली क्रिकेट टोलीले सन् २०२८ मा आयोजना हुने आइसिसी पुरुष टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ छनोट खाकाअनुसार नेपालले यसपटक एसियाली क्षेत्रीय छनोटका प्रारम्भिक खेलहरू खेल्नुपर्ने छैन।
आइसिसीको नयाँ नियम अनुसार सन् २०२६ को टी-२० विश्वकपमा सहभागी भएका तर आगामी संस्करणका लागि सिधै छनोट हुन नसकेका राष्ट्रहरूलाई यसपटक सिधै ग्लोबल छनोटमा प्रवेश दिइने व्यवस्था गरिएको हो। सन् २०२६ को विश्वकपमा समूह चरणबाटै बाहिरिएका कारण नेपालले आगामी विश्वकपमा सिधै स्थान बनाउन नसके पनि यो नयाँ प्रावधानले गर्दा टोलीलाई विश्वकप यात्राको बाटो केही सहज बनेको छ।
ग्लोबल छनोट प्रतियोगितामा नेपालसहितका टोलीहरूसँगै विभिन्न क्षेत्रीय छनोट पार गरेर आउने अन्य आठ टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। आइसिसीका अनुसार अफ्रिका, एसिया र युरोप महादेशीय छनोटबाट दुई-दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक-एक टोलीले ग्लोबल छनोटमा आफ्नो स्थान सुरक्षित गर्नेछन्।
यसरी छानिएर आएका टोलीहरूबीचको प्रतिस्पर्धापछि प्रत्येक क्षेत्रबाट एक-एक टोली र समग्र प्रतियोगिताभरिका उत्कृष्ट थप तीन टोली गरी कुल सात राष्ट्रले सन् २०२८ को टी-२० विश्वकपमा स्थान बनाउनेछन्।



