बारा, २५ साउन। अनिल साहको कप्तानीमा नेपाल ‘ए’ टोलीले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउने भएको छ।
नेपाल ‘ए’ टोलीले अगस्ट २१ देखि ३० सम्म अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज खेल्नेछ। त्यसपछि टोलीले न्यूजिल्यान्ड ‘ए’, साउथ अस्ट्रेलिया र तास्मानियासँग एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको छ।
अनिलको नेतृत्वमा रहेको टोलीमा त्रितराज दास, मयंक यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, राशिद खान, नारायण जोशी, आकाश चन्द, शहाब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।
नेपाल ‘ए’ को अस्ट्रेलिया भ्रमणले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।




