बारा, ३१ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० शृंखलाका लागि प्रस्थान गर्न लागेको नेपाल ‘ए’ टोलीलाई बिदाइ गरेको छ।
आइतबार आयोजित एक विशेष कार्यक्रममा क्यानका उपाध्यक्ष रोशनकुमार सिंह र क्रिकेट निर्देशक विनोद दासलगायतका पदाधिकारीहरूले अनिलकुमार साहको कप्तानीमा रहेको १६ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। नेपाली टोली सोमबार राति अस्ट्रेलियातर्फ प्रस्थान गर्नेछ।
अस्ट्रेलियाको डार्बिनमा आगामी अगस्ट २१ देखि ३० सम्म सञ्चालन हुने उक्त टप एन्ड टी–२० प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्ने तालिका छ। नेपालले अगस्ट २१ मा आयोजक एनटी स्ट्राइकसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नेपालले अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोली, अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमी, अगस्ट २६ मा एसीटी कोमेट्स, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरिया टोलीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले अघिल्लो संस्करणको टप एन्ड टी–२० मा पनि सहभागिता जनाइसकेको छ।
यो प्रतियोगिता लगत्तै नेपाली टोलीले अस्ट्रेलियामै साउथ अस्ट्रेलिया, तास्मेनिया र न्युजिल्यान्ड ‘ए’ टोलीविरुद्ध हुने त्रिकोणात्मक एकदिवसीय अभ्यास शृंखलामा समेत भाग लिनेछ।
आगामी शृंखलाका लागि घोषित नेपाली टोलीमा अनिलकुमार साह (कप्तान), मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री र दीपक डुम्रे रहेका छन्।




