बारा, ०१ भदौ । प्रतिनिधिसभाका सभामुख डीपी (डोलप्रसाद) अर्यालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको उत्तर दिन निर्देशन दिएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरूमै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ देखि ६० सम्मको व्यवस्थाबमोजिम प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूमा जवाफ दिन उक्त निर्देशन जारी गरेका हुन्।
सांसदहरूले लामो समयदेखि नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै लगातार विरोध जनाउँदै आएकाले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सभामुखले संसद्को गतिरोध अन्त्य गर्न र सांसदीय प्रक्रियालाई नियमित गराउन यो कदम चालिएको बताएका छन्।




