बारा, ०५ भदौ । मधेश प्रदेश सरकारअन्तर्गत रहेको प्रादेशिक अस्पताल कलैयाले देखाएको पारदर्शिता र प्रविधिमैत्री बन्ने रहर फेरि सेलाएको छ।
सुरुमा ठूलै उत्साहका साथ दैनिक सेवा प्रवाहको विवरण सार्वजनिक गर्न थालेको अस्पताल प्रशासन एकाएक मौन बनेपछि यसको नियत र कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।
अस्पतालले साउन २६ देखि भदौ १ गते सोमबारसम्मको विवरण मात्र आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको थियो। त्यसयता भदौ २, ३ र ४ गतेको कुनै पनि तथ्यांक सार्वजनिक गरिएको छैन भने आज भदौ ५ गते भइसक्दा पनि आधिकारी तथ्यांक सार्वजनिक गरिएको छैन।
सरकारी निकायहरूमा सुरु-सुरुमा केही नयाँ काम गरेजस्तो देखाउने तर अलि दिनमै सेलाउने पुरानै रोगबाट प्रादेशिक अस्पताल कलैया पनि अछूतो रहन सकेन।
अस्पतालको दैनिक सेवा प्रवाह, बिरामीको संख्या र शल्यक्रियाजस्ता महत्त्वपूर्ण तथ्यांक सर्वसाधारणले हेर्न पाउने वातावरण बनेको थियो। तर, लगातार दिनहुँ विवरण पोस्ट नगर्नुले अस्पताल प्रशासन कतिसम्म गैरजिम्मेवार, लापरवाह र पछाडि फर्किने मानसिकताको छ भन्ने स्पष्ट पार्छ।




