बारा, ०८ भदौ। मधेश प्रदेश सरकारले प्रदेशको शान्ति–सुरक्षा सुदृढ बनाउन बारा सहित आठवटै जिल्लाका प्रहरीलाई १२ वटा पिकअप सवारी साधन हस्तान्तरण गरेको छ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीको कार्यक्षमता अभिवृद्धि तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले सवारी साधन हस्तान्तरण गरेको हो।
मन्त्रालयमा आयोजित कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्रीको अध्यक्षतामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी), मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी प्रमुख (एसपी), मन्त्रालयका सचिव, पत्रकार तथा कर्मचारीहरूको उपस्थितिमा सवारी साधन हस्तान्तरण गरिएको थियो।
हस्तान्तरण गरिएका १२ वटा पिकअपमध्ये बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई एक/एक वटा गरी आठ वटा सवारी साधन उपलब्ध गराइएको छ।
त्यस्तै, सर्लाहीका गोडैता र गडहिया इलाका प्रहरी कार्यालय तथा रौतहटका चन्द्रपुर र गरुडा इलाका प्रहरी कार्यालयलाई एक/एक वटा पिकअप प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
कार्यक्रममा मन्त्रीले नेपाल प्रहरीलाई आवश्यक भौतिक संरचना, सवारी साधन तथा अन्य स्रोत–साधन उपलब्ध गराउने कार्य मन्त्रालयले विगतदेखि नै निरन्तर गर्दै आएको र आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिने बताए।
नेपाल प्रहरीसँग सम्बन्धित १२ वटा बहुवर्षीय योजना मन्त्रालयमार्फत सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्रीले प्रहरीको क्षमता तथा मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
हस्तान्तरण गरिएका सवारी साधनलाई अपराध नियन्त्रण, नियमित गस्ती, आकस्मिक परिचालन तथा नागरिकको सुरक्षामा अधिकतम सदुपयोग गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ।
सुरक्षा व्यवस्थापनका विषयमा आवश्यक समन्वय तथा सहयोगका लागि मन्त्रालय जुनसुकै समयमा तयार रहेको बताउँदै मन्त्रीले आठवटै जिल्लाका प्रहरी प्रमुखलाई प्रभावकारी समन्वय र सहकार्यका साथ कार्यसम्पादन गर्न निर्देशनसमेत दिएका छन्।






