बारा, ०९ भदौ । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा आयोजित एक महिने साउने मेलाको पसलका सामान लिन जाँदै गरेको ट्रयाक्टरबाट खसेर मंगलबार बिहान एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही निवासी १७ वर्षीय आकाश राम रहेका छन्। प्रहरीका अनुसार चारभैया पोस्ट नजिकै ट्रयाक्टरबाट तल खसेका रामलाई सोही ट्रयाक्टरको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
ट्रयाक्टरमा चालक र मृतक किशोर (काका-भतिजा) मात्र सवार थिए। घटनालगत्तै चालक ट्रयाक्टरसहित फरार भएका छन्। बाटोमा रगत देखेका श्रद्धालु र मेला समितिको सूचनापछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएर फरार चालकको खोजी तीव्र पारेको जनाएको छ।




