बारा, ०९ साउन । वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलले आज कारखाना परिसरको स्थलगत निरीक्षण गर्दै आवश्यक अध्ययन प्रक्रिया अगाडि बढाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १ गते मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वमा शाखा अधिकृत ज्योति पौडेल र सल्लाहकार श्याम शर्मा सम्मिलित तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको थियो।
स्थलगत निरीक्षणका क्रममा कार्यदलले लामो समयदेखि बन्द अवस्थामा रहेको कारखानाका भौतिक पूर्वाधार, संरचना, भवन, पुराना मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्थाबारे विस्तृत जानकारी लिएको छ। टोलीले मौजुदा संरचना तथा उपकरणमध्ये कुन-कुन पुनः प्रयोग गर्न सकिने सम्भावना छ र कुन भाग मर्मत वा नयाँ प्रविधिबाट विस्थापन गर्नुपर्नेछ भन्ने विषयमा प्राविधिक मूल्यांकन गरिरहेको छ।
मन्त्रालयले तोकेको १५ दिनको समयावधिभित्र बुझाइने प्रतिवेदनका आधारमा नेपाल सरकारले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता, पूर्वाधार पुनरुत्थान लगायत अन्य कार्ययोजनाका विषयमा अन्तिम निर्णय लिनेछ।




