बारा, ०९ भदौ । जीतपुरसिमरा उपमहानगरपालिका–६ बाट तीन महिनाअघि बेपत्ता भएकी ११ वर्षीया बालिका सनाया खातुन सुरक्षित रूपमा फेला परेकी छिन्। जेठ १७ गतेदेखि परिवारको सम्पर्कबाट बाहिर रहेकी उनलाई वीरगन्जस्थित एक संरक्षण संस्थामा सुरक्षित अवस्थामा फेला पारिएको हो।
बेपत्ता भएपछि बालिकाकी आमा गुलाप्सा खातुनले इलाका प्रहरी कार्यालय सिमरामा खोजतलासका लागि निवेदन दिएकी थिइन्। निवेदन पर्नसाथ सुरक्षा निकायले खोजी कार्य तीव्रताका साथ अगाडि बढाएको थियो।
बालिकाको खोजी तथा उद्धार कार्यमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
खोज्ने क्रममा वीरगन्जमा एक संस्थाको संरक्षणमा रहेकी बालिकालाई परिवारको सम्पर्कमा ल्याइएको छ।






