बारा, १० भदौ । रसुवामा गएको भीषण बाढीपछि आपत्कालीन उद्धार तथा उपचारका लागि नेपाली सेनाको १४ सदस्यीय मेडिकल टोलीसहित एमआई-१७ हेलिकोप्टर काठमाडौंबाट उडेको छ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार टोलीले तत्कालका लागि त्रिशूलीस्थित ब्यारेकलाई बेस बनाएर उद्धार कार्य अघि बढाउनेछ। तिब्बततर्फबाट आएको बाढीका कारण टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुगेकाले हेलिकोप्टर तत्काल अवतरण गर्न सक्ने अवस्था नभएकाले हवाई टोली अनुकूलता हेरेर मात्र त्यसतर्फ जाने बताइएको छ।
यस्तै, ६ नम्बर बाहिनीबाट विपद् व्यवस्थापन टोलीसहितको थप जनशक्ति उद्धारका लागि स्थलगत रूपमा परिचालित भइसकेको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रहरू नुवाकोट, धादिङ र चितवनमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।






