बारा, १२ भदौ । रसुवा र भोटेकोशी क्षेत्रमा आएको भिषण बाढीपछि उद्धार, राहत तथा खोजकार्य तीव्र पारिएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको आज बिहान ७ बजे सम्मको अपडेट अनुसार हालसम्म बाढीका कारण ज्यान गुमाएका ४६९ जनाको शव फेला परेको छ।
प्रभावित क्षेत्रहरूमध्ये सबैभन्दा बढी चितवनमा १६८ जना र नवलपरासी पूर्वमा ११० जनाको शव भेटिएको छ। त्यसैगरी गोरखामा ४४, धादिङमा ३३, नुवाकोटमा ३७, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव संकलन गरिएको छ।
नेपाल प्रहरीका अनुसार आपत्कालीन उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि कुल ४,३४८ जना प्रहरी कर्मचारी कार्यक्षेत्रमा परिचालन गरिएको छ भने हालसम्म १८ जना प्रहरी कर्मचारीहरू सम्पर्कविहीन रहेकाले उनीहरूको खोजकार्य जारी राखिएको छ।
बाढी-पहिरोमा परी घाइते भएका तथा प्रभावित क्षेत्रबाट उद्धार गरिएका १,५४५ जनामध्ये रसुवाबाट ६४४, नुवाकोटबाट ८९ र धादिङबाट ३ जना रहेका छन्। यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका तथा उपचारपश्चात् डिस्चार्ज भएका घाइतेहरूको संख्या ८४ पुगेको छ। राहत तथा उद्धार टोलीले बेपत्ताहरूको खोजी जारी राखिएको छ।



