बारा, १४ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाङ्गियाबस्तीका स्थानीय देबी प्रसाद फुयाल काटघाटस्थित सहजनाथ महादेव मन्दिरको दक्षिणतर्फको जंगलमा रहस्यमय अवस्थामा मृत फेला परेका छन्।
गत शुक्रबार हराएको आफ्नो पाँडो खोज्न शनिबार साइकल लिएर जंगलतर्फ गएका फुयाल साँझसम्म घर नफर्किएपछि परिवार र गाउँले खोजीमा जुटेका थिए। आइतबार जंगलमा साइकलले थिचिएको अवस्थामा उनको शव फेला परेको र शव भेटिएको स्थानभन्दा करिब १०० मिटर टाढा उनको चप्पल भेटिएकाले घटनालाई शंकास्पद मानिएको छ।
घटनाको खबर पाएलगत्तै बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रा, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरू घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन्। वडाध्यक्ष हरिदेव खरेलका अनुसार घटनाको सूक्ष्म अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कलैया अस्पताल पठाएको छ भने स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य चाँडै सार्वजनिक गर्न माग गरेका छन्।



