बारा, १५ भदौ । एसिसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहराइनमाथि ७ विकेटको शानदार जित दर्ता गर्दै प्रतियोगितामा सुरुवात गरेको छ।
बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१औँ ओभरमा ३ विकेट गुमाएर सहजै पूरा गर्यो। नेपालको जितमा ओपनर अर्जुन कुमालले अविजित ३६ रनको जिम्मेवार पारि खेले भने पूर्वकप्तान रोहित पौडेलले आक्रामक १९ रन, ओपनर आसिफ शेखले १८ र देव खनालले १० रनको योगदान दिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन नेपाली बलरहरूको घातक बलिङ सामु ३६.२ ओभरमा मात्र ८७ रनमा समेटिएको थियो। बहराइनका लागि फिआज अहमेदले सर्वाधिक १५ रन तथा मुहम्मद वासिमले १३ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बहराइनलाई कम रनमा रोक्न कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने ललितनारायण राजवंशीले ३ र करण केसीले २ विकेट हात पारे।



