Friday, October 9, 2026

चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षमा निधन

Advertisement
Advertisement

काठमाडौं, २२ असोज। चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका उनलाई तत्काल अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर दिए पनि बचाउन नसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनलाई बिहान ५ः२० बजे मृत घोषणा गरिएको थियो। प्रारम्भिक विवरणअनुसार हृदयाघातका कारण उनको निधन भएको बताइएको छ भने मृत्युको यकिन कारणका लागि पोस्टमार्टम गरिने जनाइएको छ।

नाना पाटेकरको वास्तविक नाम विश्वनाथ पाटेकर हो। उनको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा भएको थियो। उनले मुम्बईस्थित सर जे.जे. इन्स्टिच्युट अफ एप्लाइड आर्टमा अध्ययन गरेका थिए।

‘गमन’बाट सुरु भएको फिल्मी यात्रा

नाना पाटेकरले सन् १९७८ मा आएको ‘गमन’ बाट फिल्मी अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि उनले हिन्दी तथा मराठी चलचित्रमा अभिनय गर्दै आफ्नो छुट्टै पहिचान बनाएका थिए। उनको फिल्मी करियर करिब पाँच दशक लामो रह्यो। उपलब्ध फिल्मोग्राफीअनुसार उनले ६० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् भने केही फिल्ममा निर्देशक तथा लेखकका रूपमा पनि काम गरेका थिए।

उनको अभिनयको चर्चा विशेषगरी ‘अंकुश’, ‘सलाम बम्बे!’, ‘परिन्दा’, ‘प्रहार : द फाइनल अट्याक’, ‘अंगार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्नि साक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अपहरण’, ‘अब तक छप्पन’, ‘राजनीति’, ‘वेलकम’ लगायतका फिल्ममा भयो। पछिल्लो समय उनले ‘द भ्याक्सिन वार’, ‘गदर २’, ‘भानवास’, ‘हाउसफुल ५’, ‘ओ’ रोमियो’ र ‘सुबेदार’ लगायतका फिल्ममा पनि काम गरेका थिए।

‘क्रान्तिवीर’ले दिलायो अलग पहिचान

सन् १९९४ मा आएको ‘क्रान्तिवीर’ नाना पाटेकरको करियरको सबैभन्दा चर्चित फिल्ममध्ये एक हो। फिल्ममा उनले प्रताप नारायण तिलकको भूमिका निर्वाह गरेका थिए। फिल्ममा भ्रष्टाचार, सामाजिक विभेद र धार्मिक सद्भावजस्ता विषय उठाइएको थियो।

‘क्रान्तिवीर’का उनका संवादहरू आज पनि दर्शकमाझ चर्चित छन्। विशेषगरी ‘आ गए मेरी मौत का तमाशा देखने’ भन्ने संवाद उनको सबैभन्दा यादगार संवादमध्ये मानिन्छ। फिल्मको क्लाइमेक्समा उनले दिएको लामो भाषण निकै चर्चित बनेको थियो।

त्यसैगरी ‘१०० में से ८० बेईमान, फिर भी मेरा देश महान’ तथा हिन्दू–मुस्लिम रगतबीच भेद गर्न नसकिने सन्देश दिने उनको संवाद पनि चर्चित छन्।

‘वेलकम’मा कमेडी अवतार

गम्भीर तथा आक्रामक भूमिकाका लागि चर्चित नाना पाटेकरले ‘वेलकम’ (२००७) मा उदय शेट्टीको भूमिका निर्वाह गरेर आफ्नो फरक पक्ष पनि प्रस्तुत गरे। अक्षय कुमार, अनिल कपूर र परेश रावलसँगको उनको कमेडी अभिनयले दर्शकमाझ निकै लोकप्रियता कमायो। पछि उनी ‘वेलकम ब्याक’मा पनि उदय शेट्टीकै भूमिकामा देखिए।

राष्ट्रिय पुरस्कारदेखि पद्मश्रीसम्म

नाना पाटेकर अभिनयका लागि तीन राष्ट्रिय चलचित्र पुरस्कार र विभिन्न फिल्मफेयर पुरस्कारबाट सम्मानित भएका थिए। ‘क्रान्तिवीर’का लागि उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए। भारतीय चलचित्र क्षेत्रमा योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्री बाट समेत सम्मान गरिएको थियो।

गम्भीर चरित्र होस् वा नकारात्मक भूमिका, सामाजिक विषयमा आधारित कथा होस् वा हास्यप्रधान फिल्म—नाना पाटेकरले आफ्नो विशिष्ट आवाज, संवाद बोल्ने शैली र प्रभावशाली अभिनयमार्फत भारतीय सिनेमामा अलग छाप छाडेका थिए। उनको निधनसँगै हिन्दी तथा मराठी चलचित्र क्षेत्रले एक प्रभावशाली कलाकार गुमाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर