Friday, October 9, 2026

वीरगन्जका आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, राखे यस्ता गुनासा

Advertisement
Advertisement

काठमाडौं, २२ असोज । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका २४ दिनदेखि आन्दोलनरत रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन्।

आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालय पुगेर आफ्ना समस्या, गुनासा तथा मागबारे मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका हुन्।

छलफलमा पहिलो वर्षमा अध्ययनरत ४० भन्दा बढी रेजिडेन्ट डाक्टर सहभागी थिए। उनीहरूले कलेजमा अध्ययन तथा काम गर्ने क्रममा भोग्दै आएका विभिन्न समस्या मन्त्रालयका अधिकारीसमक्ष राखेका थिए।

रेजिडेन्ट डाक्टरहरूले कलेज व्यवस्थापनबाट विद्यार्थीमाथि अनावश्यक दबाब तथा ‘टर्चर’ दिइएको आरोप लगाउँदै अध्ययनका लागि आवश्यक शैक्षिक वातावरणसमेत नरहेको गुनासो गरेका छन्। उनीहरूले कलेजमा शान्तिपूर्ण, सुरक्षित र मर्यादित वातावरण निर्माण गरी अध्ययनमा फर्कने अवस्था बनाउन सरकारसँग आग्रह गरेका छन्।

छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। डाक्टरहरूले सरकारप्रति आफूहरूको आशा रहेकाले समस्या समाधानका लागि मन्त्रालयसम्म आएको बताएका छन्। ‘यो सरकारसँग आशा छ, त्यही भएर यहाँसम्म आएका हौँ,’ उनीहरूले भने।

रेजिडेन्ट डाक्टरहरूले अन्य निजी मेडिकल कलेजमा समेत ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै त्यसबारे छानबिन गर्न माग गरेका छन्। त्यस्ता गतिविधिमा संलग्न चिकित्सक तथा सम्बन्धित व्यक्तिमाथि आवश्यक कारबाही गर्नुपर्ने उनीहरूको माग छ।

आन्दोलनरत डाक्टरहरूले आफूहरू तत्काल कलेजमा फर्किएर अध्ययन गर्ने अवस्थामा नरहेको बताएका छन्। आफ्ना समस्या सम्बोधन नभएसम्म आन्दोलन जारी रहने संकेतसमेत उनीहरूले दिएका छन्।

छलफलका क्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार झाले रेजिडेन्ट डाक्टरहरूबाटै वास्तविक समस्या सुनेर समाधानका लागि सरकारले गर्न सक्ने पहलका विषयमा छलफल गरिएको बताउनुभयो।

‘यो विषयमा सरकार गम्भीर छ। शिक्षामन्त्रीज्यूले पनि गम्भीरताका साथ यसलाई हेर्नुभएको छ। तपाईंहरू आशा लिएर जानुस्, हामी यथाशीघ्र यसलाई सम्बोधन गर्छौं,’ झाले भन्नुभयो।

कलेजमा देखिएका समस्या समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय गरी आवश्यक कदम चाल्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपसचिव रामचन्द्र शर्माले पनि रेजिडेन्ट डाक्टरहरूले उठाएका समस्याप्रति आयोग गम्भीर रहेको र समाधानका लागि आवश्यक पहल गर्ने बताउनुभयो।

सरकारको पहलबाट आफ्ना समस्या समाधान हुने र नेशनल मेडिकल कलेजमा पुनः शान्तिपूर्ण तथा अध्ययनमैत्री वातावरण बन्ने अपेक्षा आन्दोलनरत रेजिडेन्ट डाक्टरहरूले गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर