पोखरा, २३ असोज। कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा सवार १९ जनाकै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो । उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा करिब १२/१३ वर्षीया ममता तिवारी, १३/१४ वर्षीय अशिम कँडेल, नामथर नखुलेका दुई जना १३/१४ वर्षीया बालिका र उपचारका लागि बसबाट लिफ्ट मागेर सवार भएका पोखरा–२८ का ६५ वर्षीय बाबुराम तिवारी रहेका छन् । उनीहरूको बिहान ८ः३५ देखि ९ बजेसम्म विभिन्न समयमा मृत्यु घोषणा गरिएको हो ।
दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको गण्डकी मेडिकल कलेज (जीएमसी) र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
जीएमसीमा उपचाररत घाइतेमा पोखरा–२८ सौर्यका १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र पोखरा–२८ डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिना छन् । उनीहरू कक्षा १० मा अध्ययनरत रहेको र अवस्था मध्यम रहेको जनाइएको छ ।
यस्तै, गण्डकी अस्पतालमा उपचाररत घाइतेमा १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेहरूमा स्नेहा गौतम, सोनिया तिवारी, अंकित पराजुली, स्मृती खत्री, स्नेहा तिवारी, आकृती बुढाथोकी, मेरिना तिवारी, सुप्रिया आचार्य, यमन मगर र बस चालक ५७ वर्षीय तुलबहादुर गुरुङ रहेका छन् । अधिकांश घाइतेको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।
उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही समेत सामान्य घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।






