कलैया, ०६ चैत । वीरगञ्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा गरिएको जाँचका क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौ निवासी ५० वर्षीय विनयशंकर साह तुरहा पक्राउ परेका हुन्।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकललाई रोकेर खानतलासी गरेको थियो।
प्रहरीका अनुसार मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको रकम फेला पारिएको हो। बरामद गरिएको रकममध्ये २० लाख २५० रुपैयाँ नेपाली र ६०० रुपैयाँ भारतीय नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका तुरहालाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।





