बारा, १५ वैशाख । वीरगञ्जको मुख्य सडक विस्तार कार्यलाई व्यवस्थित र विवादरहित बनाउन आजदेखि आधिकारिक केन्द्रविन्दु निर्धारण गर्ने प्रक्रिया सुरु गरिएको छ।
सोमबार महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले नक्साअनुसार सडकको बीच भाग पहिचान गरी स्टिलका किल्ला गाड्ने निर्णय गरेसँगै यो कार्य अघि बढेको हो।
यसअघि सडकको वास्तविक केन्द्रभाग स्पष्ट नहुँदा घर-टहरा हटाउने विषयमा स्थानीयवासीमा अन्योल कायम थियो। अब नापी कार्यालय पर्सा र सडक डिभिजन कार्यालय हेटौँडाको प्राविधिक सहयोगमा केन्द्रविन्दु तय गरिने भएपछि सडकको दायाँ-बायाँ बराबर दूरी कायम गर्न र विस्तार कार्यलाई पारदर्शी बनाउन सहज हुने विश्वास गरिएको छ।
नापजाँचका लागि जिल्ला प्रशासन, नापी, सडक डिभिजन र महानगरपालिका सम्मिलित संयुक्त कार्यदल समेत गठन गरिएको छ। गण्डकदेखि भन्सारसम्मको क्षेत्रमा भइरहेको यो विस्तार कार्यले केन्द्रविन्दु निर्धारणसँगै अब थप गति लिने देखिएको छ।





